नारदमुनि थुलुङ गोल्डकप : न्यू त्रियुगा सेमिफाइनलमा
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो क्वार्टर फाइनल खेलमा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीले नेपाल खेलकुद क्लब रौतहटलाई ट्राई ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शनिबार सम्पन्न खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राई ब्रेकरमार्फत गरिएको थियो । ट्राई ब्रेकरमा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी नेपाल खेलकुद क्लब रौतहटलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
दुवै टोलीका पाँच–पाँच खेलाडीले प्रहार गरेका पेनाल्टीमध्ये सप्तरीका गोलकिपर सन्दीप भट्टराईले दुई गोल रोक्न सफल भए भने रौतहटका गोलकिपरले एक गोल मात्र बचाउन सके ।
खेल अवधिभर न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीले आक्रामक खेल प्रस्तुत गर्दै दबाब सिर्जना गरे पनि रौतहटका रक्षक तथा गोलकिपरले मजबुत प्रतिरक्षा गर्दै खेललाई बराबरीमा रोकेका थिए । अन्ततः खेल ट्राई ब्रेकरमा सप्तरीले आफ्नो पक्षमा पार्न सफल भयो ।
उत्कृष्ट प्रदर्शनका लागि न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीका गोलरक्षक सन्दीप भट्टराई ‘म्यान अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत आइतबार एपीएफ क्लब काठमाडौँ र एलयाक्स सिटी फुटबल क्लब मोरङबिच अन्तिम क्वार्टर फाइनल खेल हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्