‘निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न सञ्चार माध्यमहरूले भूमिका खेल्नुपर्छ’
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न सञ्चार माध्यमहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ४१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्रै लोकतन्त्रलाई जीवन्त बनाउने भएकाले त्यसका लागि आमसञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले समावेशीता,समान अवसर र सबैको आवाजको प्रतिनिधित्व गर्न सक्ने गरी भूमिका खेल्न सञ्चारका माध्यमहरूलाई आग्रह गर्नुभयो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने निर्णयले यसलाई जनमुखी, जिम्मेवार र पारदर्शी बनाउने लक्ष्य राखेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले नयाँ प्रविधिको प्रयोग र गुणस्तरमा सुधारमा जोड दिई नयाँ पुस्ता सम्म राष्ट्रको आवाज पुर्याउने भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारणले सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गरी नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षाका लागि भूमिका खेल्न आग्रह गर्नुभयो ।

सचिव बस्नेतले सार्वजनिक सेवा प्रसारणले तथ्यपूर्ण समाचार सामग्री प्रसारण गरी सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले उठाएको आवाजको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रविधिको विकासलाई सञ्चार माध्यमहरूले अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्ने उल्लेख गर्नुहुँदै नयाँ प्रविधिका माध्यमबाट युवा पुस्तामा पहुँच बढाउन सार्वजनिक सेवा प्रसारणले जोड दिँदै आएको बतउनुभयो ।

अध्यक्ष विष्टले सार्वजनिक सेवा प्रसारणलाई राज्यले दिएको दायित्व पुरा गर्न अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा नागरिक केन्द्रित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय एकता, समृद्धि र विपद्मा जनताको जीउधनको रक्षा लाई सार्वजनिक सेवा प्रसारणले केन्द्रमा राखेर प्रसारण सामग्री उत्पादनमा जोड दिँदै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष विष्टले नेपाली समाजको विशिष्ट विशेषता र आवश्यकतालाई प्रतिविम्बित गर्न सक्ने बनाउन राज्यका तर्फबाट समेत थप सहयोग, समर्थन र लगानी आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा अध्यक्ष विष्टले सार्वजनिक सेवा प्रसारण ऐन र नियमावलीको व्यवस्था अनुरुप यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजन बीचको समायोजनका सम्पूर्ण काम सक्ने गरी काम भइरहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारणका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणले प्रसारण गरेका सामग्रीले नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजको प्रतिनिधित्व गर्नुका साथै समावेशीता र राष्ट्रिय एकतालाई बलियो बनाउन भूमिका खेल्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्मा, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाल लगायतले सार्वजनिक प्रसारणको मर्म अनुरूपका प्रसारण सामग्री उत्पादन र प्रसारणका लागि राज्यका तर्फबाट थप लगानी र नीतिगत स्पष्टता आवश्यक रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल टेलिभिजनमा लामो समय योगदान गर्नुहुने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै सर्वोत्कृष्ट सम्वाददाता तथा उत्कृष्ट सम्वाददाताहरूलाई पुरस्कृत समेत गरिएको थियो ।
















प्रतिक्रिया राख्नुहोस्