तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय अन्तर विद्यालय जुनियर फुटबलको उपाधि ठोरी एकेडेमीलाई 

वीरगञ्ज । पर्सा जिल्ला स्तरीय प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता २०८२ को उपाधि ठोरी एकेडेमीले हात पारेको छ ।

फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाई ब्रेकरमा ठोरी एकेडेमीले मुनलाईट मावि वीरगन्जलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । फाइनल खेलको म्यान अफ द म्याच ठोरी एकेडेमीका असिन थापा घोषित भएका छन् ।

तेस्रो स्थानका लागि भएको खेलमा विकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो । उक्त खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान बने । एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा रह्यो ।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त विद्यालयले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेका छन् । चौथो स्थान प्राप्त विद्यालयलाई शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर ठोरीका असिन थापा मगर, उत्कृष्ट डिफेन्डर मुनलाईटका विश्वास महतो, उत्कृष्ट मिडफिल्डर दिव्यांशु पण्डित, उत्कृष्ट स्ट्राइकर ठोरीका यवेश राई, सर्वाधिक गोलकर्ता मुनलाईटका प्रिन्स आले मगर तथा प्रतियोगिताको म्यान अफ द सिरिज ठोरीका असिन थापा मगर घोषित भए । उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्याप र नगद रु. १५ सय प्राप्त गरेका छन् ।

समापन समारोहमा प्याब्सन पर्साले फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै एन्फा पर्साका प्रशिक्षक गृष्ममणि शाक्यलाई सम्मान गरेको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले सम्मान गर्नुभएको थियो । 

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला प्राज्ञिक सल्लाहकार श्याम केसी, कमल चौगाई लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button