तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

पर्सा। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रु एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । 

गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा  विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रु ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो । 

गत आवको छ महिनामा भने रु ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रु २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ । 

ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रु एक अर्ब १७ करोड मूल्यका ५९२  इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रु तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button