जुम्लाबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको हेलिकप्टर बबईमा आकस्मिक अवतरण

सुर्खेत । जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सुर्खेतको बबईमा आकस्मिक अवतरण भएको छ ।
मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर प्रतिकुल मौसमका कारण आज दिउँसो बबईमा आकस्मिक अवतरण भएको हो ।
यसअघि आजै दिउँसो २ः०० बजेतिर उक्त हेलिकप्टर प्रतिकुल मौसमका कारण सल्यानको कालीमाटी गाउँपालिका–७, घुइयाबारीमा अवतरण गरेको वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयो ।
उहाँले हेलिकप्टर पाइलटलाई उद्धत गर्दै नेपालगन्जमा मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि घुइयाबारीमा फोर्स ल्याण्ड गर्नुपरेको जानकारी दिनुभयो ।
जुम्लाबाट ल्याइएका हृदयाघातका बिरामीलाई नेपालगन्ज हुँदै काठमाडौँ लैजानुपर्नेमा सल्यानको घुइयाबारीसम्म एम्बुलेन्स ल्याउन धेरै समय लाग्ने भएकाले बबईसम्म एम्बुलेन्स ल्याएर सवा ४ बजेतिर सोही हेलिकप्टरले काठमाडौँका लागि उडान भरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्