तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा २५ मतदानस्थल अति संवेदनशील

अर्घाखाँची। एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २५ मतदानस्थल अति संवेदनशील सूचिमा राखिएको छ।

दुर्गम भूगोल, छरिएको बस्ती रहेका कारण २५ मतदानस्थललाई उच्च सुरक्षा निगरानीमा राख्नुपर्ने अवस्था आएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनको लागी जिल्लामा कुल २ सय ९ मतदान केन्द्र र १ सय २ मतदानस्थल रहेका छन् भने २ वटा अस्थायी मतदान केन्द्र कायम रहेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जानकारी दिनुभयो । जसमध्ये २५ मतदानस्थल अति संवेदनशील, ४० संवेदनशील र ३७ सामान्य सूचीमा परेको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनुभयो ।  

“जहाँ मतदानस्थलसम्म पुग्न कठिन छ, पैदल यात्रा लामो छ र सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ, ती स्थललाई अति संवेदनशीलमा राखिएको हो,” उहाँले भन्नुभयो, “विशेषगरी शितगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुकेजस्ता क्षेत्र यस श्रेणीमा रहेका छन् ।”

कतिपय स्थानमा घरभन्दा जङ्गल क्षेत्र बढी रहेको र मतदाताले घण्टौँ पैदल यात्रा गरेर मतदानस्थल पुग्नुपर्ने अवस्था छ । यस्तो भौगोलिक बनावटले मतदान सुरक्षामा विशेष सतर्कता आवश्यक बनाएको सुरक्षा समितिको निष्कर्ष छ ।

सदरमुकाम नजिक तथा सडक सञ्जालको पहुँच सहज भएका मतदानस्थललाई भने ‘सामान्य’ श्रेणीमा राखिएको ले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुबेदीले सबै मतदानस्थलमा मतदाताले निर्भीक र सहज रूपमा मतदान गर्न पाउने वातावरण बनाउन सुरक्षाको थप रणनीति अपनाइने पनि बताउनुभयो ।

“सबै मतदान केन्द्रमा सुरक्षा संयन्त्रलाई सक्रिय बनाइनेछ,” उहाँले भन्नुभयो, “मतदाताले घरबाट मतदान केन्द्रसम्म ढुक्क भएर पुगेर आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सक्ने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।”

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुल १ हजार २ सय ६५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिने भएको छ । जसअनुसार नेपाल प्रहरी बाट १ हजार १ सय ६९ जना र सशस्त्र प्रहरीबाट ९६ जना निर्वाचन सुरक्षामा खटाइने छन् ।

निर्वाचन सञ्चालनका लागि १ हजार २ सय ५४ जना कर्मचारी आवश्यक पर्ने छन् । कर्मचारीबाट मात्र अपुग हुने अवस्था आएमा शिक्षकहरूलाई समेत निर्वाचन कार्यमा खटाइने छ ।

अर्घाखाँची जिल्लामा भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई चुस्तरूपमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस जिसीले बताउनुभयो । विशेष सुरक्षा योजना बनाएर अगाडि बढेको र निर्वाचन मिति घोषणा भएलगत्तै सुरक्षा व्यवस्था मिलाएको जिसीले बताउनुभयो ।

अर्घाखाँचीमा पछिल्लो अभियानमा ४ हजार ९३५ नयाँ मतदाता थप भएका छन् । हाल १ लाख ७१ हजार ६५२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले बताउनुभयो । जसमा महिला ८४ हजार ४९५ र पुरुष ८७ हजार १५७ रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button