तपाईँ सुन्दै हुनुहुन्छः

सुर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु 

भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर १० मा पर्ने पारी टोलबाट यो प्रणालीको शुभारम्भ गरिएको हो ।

प्रारम्भिक चरणमा सो क्षेत्रका घरहरूमा कोडसहितको डिजिटल नम्बर जडान गर्ने र विस्तृत विवरण सङ्कलन गर्ने कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख वासुदेव थापाले सो प्रणालीको शुभारम्भ गर्दै नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो । डिजिटल घर नम्बर प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख थापाको भनाई थियो । 

डिजिटल घर नम्बरसँगै नगरपालिकाका सबै वडाका प्रत्येक घरको ठेगाना, पारिवारिक विवरण, नक्सा लगायतका सूचनाहरू डिजिटल रूपमा अभिलेख राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो ।

जसले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास नगरपालिकाले लिएको छ ।

डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउने आचार्यको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button