तपाईँ सुन्दै हुनुहुन्छः

रात्रिकालीन बस सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।   

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।

थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने कामपाले जानकारी दिएको छ । 

“बेलुका ८ः०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ”, कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल भन्नुभयो, “सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।” उहाँले यसअघि रातिको समयमा किशोरी र महिलाले दुर्व्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको डङ्गोलले जानकारी दिनुभयो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । सेवा प्रारम्भ गर्दा साँझ ८ः०० बजेदेखि राति ११ः०० बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगर प्रहरी खटिनेछन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button