तपाईँ सुन्दै हुनुहुन्छः

फोरजी सेवा कमजोर हुँदा बैतडीमा विद्यालयका कामकाज प्रभावित

बैतडी। बैतडीको पुर्चौडी नगरपालिकामा इन्टरनेट सेवा स्तरीय नहुँदा विद्यालय क्षेत्र प्रभावित बनेको छ।

एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) मार्फत गर्नुपर्ने अधिकांश काम नेपाल टेलिकमको कमजोर फोरजी सेवाका कारण अवरुद्ध भएका हुन्।

शिक्षकहरूका अनुसार अनलाइन प्रणालीबाटै तलबी माग फारम भर्ने, विद्यार्थीहरूको नतिजा प्रकाशन गर्ने, मार्कसिट तयार पार्ने लगायतका महत्वपूर्ण कामहरू गर्न समस्या भइरहेको छ। इन्टरनेट अस्थिर हुँदा दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधि नै प्रभावित बनेका छन्।

डिलेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र धानुकले फोरजी सेवा प्रभावकारी नहुँदा विद्यालयका सबैजसो काम ठप्पजस्तै भएको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरूको हाजिरी इन्ट्री, नतिजा प्रकाशन, मार्कसिट निर्माणदेखि शिक्षकको तलबी माग फारमसम्म सबै काम प्रभावित भएका छन्।

त्यस्तै, पुर्चौडी नगरपालिकाको शिक्षा शाखाका कम्प्युटर अपरेटर करन भण्डारीले पछिल्लो समय विद्यालयका सबै विवरण अनलाइन प्रणालीबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि कमजोर इन्टरनेटका कारण सो कार्य गर्न नसकिएको जानकारी दिनुभयो।

स्थानीय तहमा गुणस्तरीय इन्टरनेट सेवा नहुँदा डिजिटल प्रणालीमा आधारित शैक्षिक व्यवस्थापन कार्यान्वयनमा चुनौती थपिएको सरोकारवालाहरूले बताउनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button