मुगुमा दोस्रो पटक हिमपात र वर्षा (फाेटाेफिचर)

मुगु । मुगु जिल्लामा यस वर्ष दोस्रो पटक हिमपात र वर्षा भएको छ। मंगलबार रातिदेखि परेको हिमपात र वर्षाका कारण जिल्लाका उच्च हिमाली क्षेत्रहरू सेतो हिउँले ढाकिएका छन् भने तल्लो भेगमा वर्षा भएको छ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा क्षेत्रमा समेत व्यापक हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। समाचार तयार पार्दासम्म जिल्लाका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहेको छ।

छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका, सोरु र खतेड गाउँपालिकाका उच्च हिमाली भेगमा हिमपात भएको स्थानीयवासीले बताएका छन्। बेँसी क्षेत्रहरूमा भने लगातार वर्षा भइरहेको छ।
हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका छन्। चिसोका कारण बिहान–बेलुकीको आवतजावत र दैनिक कामकाजमा कठिनाइ भएको स्थानीयको भनाइ छ।
यद्यपि लामो समयदेखि खडेरीका कारण सुक्दै गएका हिउँदे बालीका लागि भने यो हिमपात र वर्षा लाभदायक हुने कृषकहरूले बताएका छन्। गहुँ, जौ र आलुजस्ता बालीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यसअघि माघ महिनाको अन्त्यतिर पहिलो पटक हिमपात भएको थियो। दोस्रो पटकको हिमपात र वर्षाले फेरि मौसम थप चिसो बनेको छ। हिमपात र वर्षाका कारण कर्णाली राजमार्ग तथा मुगुको हवाई सेवा समेत प्रभावित हुने सम्भावना देखिएको छ।










प्रतिक्रिया राख्नुहोस्