टाइगर कप भलिबल : गण्डकी र पर्वत भलिबल संघ विजयी
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलमा गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल सङ्घले आज भएको खेलमा जित हासिल गरेका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा पुरुषतर्फ गण्डकीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा तथा अर्को खेलमा पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो । त्यसै गरी मङ्गलवार भएको पुरुषतर्फ पर्वत जिल्ला भलिबल सङ्घले माल्दिभ्स भलिबल एसोसिएसनलाई २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले सहज जित दर्ता गर्यो ।
यसअघिका महिलातर्फका खेलमा न्यू डायमन्ड स्पोट्स क्लब र थाइल्याण्ड क्विन्सले जित हात पारेका छन् । न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको भने थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको सम्भावना जीवित राखेको छ । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।
च्याम्पियनसिपअन्तर्गत भोलि बुधबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र पुलिस बिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै न्यू डायमन्ड र थाइल्याण्ड क्विन्स भिड्नेछन् । भोलिको तेस्रो खेल पुरुषतर्फ पुलिस र माल्दिभ्स बिच हुनेछ । त्यसपछि भोलिको अन्तिम खेल एपीएफ र आर्मीबिच हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने भएको सहसंयोजक डोलराज पोखरेलले बताउनुभयो ।
महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्