हिमपात भएसँगै पोरखेगढिमा बढ्यो पर्यटकको सङ्ख्या
बाजुरा। बाजुराको बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने ऐतिहासिक तथा पर्यटकीय स्थल पोरखेगढिमा हिमपात भए सँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

यस वर्ष शुक्रवार राति पहिलो पटक हिमपात भएसँगै पोरखेगढि हिउँ खेल्ने र घुमफिर गर्नेहरूको आकर्षक गन्तव्य बनेको हो।
हिमपातपछि दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक पोरखेगढिमा पुग्ने गरेको बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार पोरखेगढिमा एक पटक हिमपात भएमा दुईदेखि तीन महिनासम्म हिउँ टिकिरहने गर्दछ। हाल करिब १० इन्च जति बाक्लो हिउँ जमेको छ, जसले गर्दा सिङ्गो क्षेत्र सेताम्मे बनेको छ।

हिउँले ढाकिएको पोरखेगढिको प्राकृतिक सौन्दर्य अवलोकन गर्न, हिउँ खेल्न तथा तस्बिर खिच्न जिल्लाका विभिन्न स्थानसँगै छिमेकी अछाम,मुगु लगायत जिल्ला बाट समेत पर्यटकहरू आउने गरेका छन्। हिमपातपछि चिसो मौसम भए पनि पर्यटकहरूको उत्साहमा कुनै कमी नआएको स्थानीय आशिष रावतले बताउनुभयो ।
पर्यटकको आगमनसँगै स्थानीय होटेल, चिया पसल तथा साना व्यवसायमा चहलपहल बढेको छ। यसले स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।

पर्यटनको राम्रो सम्भावना रहेको पोरखेगढिमा व्यवस्थित सडक, आवास र अन्य पूर्वाधारको विकास तथा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास रहेको छ।







प्रतिक्रिया राख्नुहोस्