लुम्बिनी प्रदेश सभाको बैठक आज, चार विषयमा छलफल हुने
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा चार महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
सम्भावित कार्यसूचीअनुसार बैठकको पहिलो बुँदामा प्रदेश सभा सदस्यको स्थान रिक्त सम्बन्धी जानकारी सभामुखले सभालाई गराउनु हुनेछ। त्यसपछि प्रदेश सभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।
तेस्रो कार्यसूचीअन्तर्गत “जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” प्रदेश सभामा पेश गरिनेछ।
त्यसैगरी चौथो कार्यसूचीमा मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक” माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्नुहुनेछ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ समेत मुख्यमन्त्रीले दिनुहुनेछ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकको कार्यसूची प्रदेशको नीति, कानुन तथा समसामयिक विषयसँग सम्बन्धित रहेको छ।








प्रतिक्रिया राख्नुहोस्