तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा १ सय ७३ कुष्ठ रोगीको पहिचान

डडेलधुरा । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा १ सय ७३ जना कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये डडेल्धुरामा तीन पुरुषसहित १ जना महिला गरी ४ जनामा कुष्ठरोग पहिचान भएको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ । 

कार्यालयले आइतबार ७३ औँ विश्व कुष्ठरोगको अवसरमा उक्त जानकारी गराएको हो । सुदूरपश्चिमको कैलालीमा मात्र १ सय १७ जना नयाँ सङ्क्रमितहरूको पहिचान भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुरामा भेक्टर कन्ट्रोलर हरिप्रसाद भट्टका अनुसार सन् २०१० मा निवारण गरिएको कुष्ठरोग फेरि पनि कुनै न कुनै प्रकारले देखिन थालेको छ । जनचेतनाको अभाव, रोग लुकाउने प्रवृत्ति तथा पछिल्लो पटक स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिमको प्रबन्ध नहुँदा निवारण भनिए पनि त्यसो हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले बताउनुभयो ।

सङ्ख्यात्मक रुपमा कैलालीमा बढी देखिए पनि प्रति लाखमा पत्ता लागेका नयाँ बिरामीमध्ये कञ्चनपुरमा ३३.१६, कैलालीमा १२.६८, अछाममा ५.०८, डडेल्धुरामा २.९३, दार्चुलामा २.२८, डोटीमा २.०२, बैतडीमा १.२७, बाजुरा र बझाङमा भने शुन्य रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button