मतदाता र सरोकारवालाको जिज्ञासा सम्बोधन गर्दै आयोगको कल सेन्टर
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सुरु गरेको कल सेन्टरले मतदाता सरोकारवालाका विभिन्न जिज्ञासाको सम्बोधन गरिरहेको छ। माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा शनिबारसम्म ६८२ जनाले जिज्ञासा राख्नुभएको छ।

आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी छन्। यस अवधिमा मतदाता नामावलीका विषयमा ३७० जिज्ञासा सम्बोधन भएका छन्। यस्तै निर्वाचन आचारसंहिताका विषयमा ६४ प्रश्नको सम्बोधन भएका छन्।
मतदाता शिक्षासम्बन्धी ३३ र अन्य २१५ प्रश्नको जिज्ञासा सम्बोधन भएका छन्।
निर्वाचनलाई लक्षित गरेर आयोगले कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइ गरिरहेको छ। हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कल सेन्टर सञ्चालनमा रहेको छ। यो समय क्रमशः थपिँदै लगिने आयोगले जनाएको छ।
निःशुल्क टोल(फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्न सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन। निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म कल सेन्टर सञ्चालनमा रहने छ।







प्रतिक्रिया राख्नुहोस्