ज्ञान र सीप राष्ट्रनिर्माणमा प्रयोग गर्नुपर्छ: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल खुला विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागिता जनाउनुभएको छ। काठमाडौँको भृकुटीमण्डपमा आइतबार सम्पन्न समारोहमा तीन संकायका ५४५ विद्यार्थी दीक्षित भएका छन्। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदकसमेत प्रदान गरिएको थियो।

२०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयले पहिलो पटक दीक्षान्त समारोह आयोजना गरेको हो। समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा रहनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खुला तथा दूर सिकाइमार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्न विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले छोटो समयमै विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा पहिचान बनाएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले आगामी दिनमा विश्वविद्यालयले समयसापेक्ष, रोजगारमूलक, अनुसन्धान तथा नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो। भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि खुला विश्वविद्यालय प्रभावकारी माध्यम भएको उहाँको भनाइ थियो।
युवाको बदलिँदो अपेक्षालाई सम्बोधन गर्दै प्रतिभा पलायन रोक्न उच्च शिक्षा संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल खुला विश्वविद्यालयले यस क्षेत्रमा अग्रणी भूमिका खेलोस् भन्ने कामना गर्नुभयो।
दीक्षित विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले प्राप्त ज्ञान र सीप राष्ट्रनिर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो। साथै उहाँले सकेसम्म नेपालमै अवसर खोज्न, नयाँ अवसर सिर्जना गर्न र जहाँ गए पनि देशको गौरव बढाउने नागरिक बन्न अनुरोध गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्