पोखरामा टाइगर कप भलिबल जारी
पोखरा । पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा पर्वत भलिबल संघ, गण्डकी र महिला तर्फ दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबले जित हासिल गरेका छन् ।

पुरुषतर्फ शनिबार भएको खेलमा पर्वत भलिबल सङ्घले नेपाल पुलिस क्लबमाथि ३–२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौँ सेटमा पुगेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत शनिबार भएको पुरुष तर्फको अर्को खेलमा गण्डकी प्रदेश भलिबल सङ्घले पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
त्यसै गरी शनिबार बिहान भएको महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्यो ।
महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्स माथि ३–२ सेटको रोमाञ्चक जित हात पार्न सफल भयो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो ।
च्याम्पियनसिपअन्तर्गत भोलि आइतबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र न्यू डायमन्डबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै पुलिस र थाइल्यान्ड क्विन्स भिड्नेछन् ।
त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने प्रतियोगिताका संयोजक कुमार गुरुङले बताउनुभयो ।
माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएको आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।
सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । शनिबार दर्शको सङ्ख्या उल्लेखनीय रहेको सचिव डिबी नेपालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्