तपाईँ सुन्दै हुनुहुन्छः

मुगुका उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात

मुगु,गमगढी। मुगु जिल्लाका उच्च हिमाली भेगमा शुक्रबारदेखि निरन्तर परेको व्यापक हिमपातले जनजीवन प्रभावित भए पनि स्थानीय कृषकहरूमा खुसी छाएको छ। लामो समयदेखि वर्षा नहुँदा सुक्ने अवस्थामा पुगेका हिउँदे बालीका लागि यो हिमपातले ठूलो राहत दिएको हो।

मुगुम कार्मारोङ, छायाँनाथ, सोरू, खतेड लगायतका उच्च भेगमा बाक्लो हिउँ जमेको छ। स्थानीय कृषकहरूका अनुसार यस समयमा परेको हिउँ बालीका लागि ‘सेतो मल’ जस्तै फाइदाजनक हुन्छ। 

शुक्रवार राती देखि  व्यापक हिमपात भएको  राराराष्टिय निकुञ्जका  बरिष्ट संरक्षण अधिकृत  बिश्वबाबु श्रेष्टले जानकारी दिनुभयो उहाँका अनुसार  केही दिन यता रारामा व्यापक चिसो बढेको थियो  जसले गर्दा  पर्यटक आवागमनको सङ्ख्या धेरै घटेको छ ।

हिउँदे बालीलाई फाइदा
कृषि प्राविधिकहरूका अनुसार खेतमा लगाइएको गहुँ, जौ र उवा जस्ता बालीका लागि हिउँले प्राकृतिक सिँचाइको काम गर्नुका साथै उत्पादन वृद्धि गर्न सहयोग पुग्नेछ। मुगुको पहिचान बनेको स्याउ खेतीका लागि आवश्यक चिस्यान र तापक्रम सन्तुलन कायम गर्न पनि यो हिमपात अत्यन्त उपयोगी हुने देखिएको छ।

सुख्खा मौसममा परेको असर र रोगव्याधि
पछिल्ला केही महिनामा सुख्खा मौसम र पानीको कमीका साथ‌ जताततै सुख्खा  धुवाँ ,धुलो कारण  मानिसमा रुघा खोकी  ज्वरो ले सताउने गरेको थियो भने गहुँ, जौ, स्याउ तथा अन्य बालीहरू रोगव्याधि र किरा–पोकाले सताएका थिए। तर, हिमपातले यी रोगव्याधि नष्ट गर्न मद्दत पुर्‍याउँदा आगामी बालीको स्वास्थ्यमा सकारात्मक असर पर्ने विश्वास गरिएको छ।

जनजीवन प्रभावित तर उत्साह कायमै

हिमपातका कारण अत्यधिक चिसो बढ्दा जनजीवन केही कष्टकर बनेको छ। यातायात सेवा आंशिक रूपमा अवरुद्ध भएको छ भने विद्यालयहरूको पठनपाठन पनि प्रभावित हुने देखिएको छ। तर, लामो समयदेखि खडेरी र रोग व्याधिमा सताइरहेका कृषकहरू भने बाली राम्रो हुने आशामा उत्साहित देखिएका छन्।

“धेरै दिनदेखि पानी परेको थिएन, बाली सुक्ला भन्ने डर थियो। अहिले हिउँ परेपछि उत्पादन राम्रो हुने आशा पलाएको छ,” मुगुम कार्मारोङका एक स्थानीय कृषक लापणका लामाले बताए।    ढिलै भए पनि  यस हिमपातले गहुँ, उवा , जौ सप्रिने  छायाँनाथरारा वडा नं ७ का कषक पर्बुजङ्ग शाहीले  जानकारी दिनु भयो ।

जडिबुटी उत्पादनमा पनि टेवा
हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेसँगै आगामी सिजनमा यार्चागुम्बा, कटुकी र वनलसुनजस्ता बहुमूल्य जडीबुटीको उत्पादन बढ्ने अनुमान गरिएको छ। हिमपातले वनपाखामा रहेका कीरा र रोगव्याधि नष्ट गर्ने भएकाले कृषि उत्पादन स्वस्थ हुने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले यस हिमपातलाई प्राकृतिक वरदानका रूपमा लिँदै यस वर्ष खाद्यान्न उत्पादन राम्रो हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button