तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा हिमपात र वर्षा भएपछि किसान उत्साहित

बैतडी।बैतडीमा हिमपातसहित वर्षा भएको छ। शुक्रबार राति जिल्लाका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको हो।

खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायत क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भएको जनाइएको छ।

असोज महिनादेखि वर्षा नहुँदा खडेरी परेको अवस्थामा भएको वर्षाले किसानमा खुसीयाली छाएको छ। लामो समयदेखि पानी नपर्दा हिउँदे बाली प्रभावित हुँदै आएको थियो। चार महिनापछि वर्षा भएपछि गहुँ बाली सप्रिने बैतडीको पाटन–१० का स्थानीय दल बहादुर बिष्टले बताउनुभयो। उच्च लेकाली क्षेत्रमा आलु खेतीका लागि पनि सहज हुने उहाँको भनाइ छ।

जिल्लामा २५ हजार ७०० हेक्टर जमिनमा खेती हुँदै आएको छ। यसमध्ये १० हजार ९०० हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ। अधिकांश खेतीयोग्य जमिन आकासे पानीको भरमा आधारित रहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button