गाउँकी उद्यमी– मिठ्ठू खत्री

दोलखा । मेहेनत गर्यो भने गाउँमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएकी छ दोलखाकी किसान मिठ्ठू (नरमाया) खत्री । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपाकी मिठ्ठूले गाउँमै साना उद्योग सञ्चालन र पशुपालनबाट सात जनाको परिवार धान्नुभएको छ ।
हरेक दिन बिहानदेखि साँझसम्म खेती, पशुपालन र लघु उद्यममै समय बिताइरहनुभएकी मिठ्ठू खत्री यो पेसाबाट बचत गर्न नसकिएको भए पनि सात जनाको परिवार राम्रैसँग पाल्न सकेको बताउनुहुन्छ ।
कुनै बेला गाउँमा स्वास्थ्य स्वयंसेविका रहेको मिठ्ठूलाई राजनीतिक आस्थाको कारण त्यसबाट हटाइएको तीतो अनुभव छ । उहाँ भन्नुहुन्छ – “राजनीतिक आस्थाको कारण स्वास्थ्य स्वयंसेविकाबाट हटाइएको भए पनि खेती किसानीबाट सन्तुष्ट छु ।”

मिठ्ठू खत्रीले गाउँमा १९ वटा भेडा पाल्नुभएको छ । ७÷८ वटा गाई–भैँसी पनि छन् । भेडाको उन र दूध– घ्युको बिक्रीबाट हुने आम्दानीले उहाँको परिवार राम्रोसँग चलिरहेको छ । उहाँको काममा श्रीमानले पनि सहयोग गरिरहनुभएको छ ।
गुर्जपामा मिठ्ठू खत्रीलगायत गाउँका अरू धेरै मेहनती किसान मिलेर महादेवथान उद्यमी समूह सञ्चालन गरिएको छ । त्यो समूहले अल्लोको धागो, कपडा र झोला उत्पादन गरेर बिक्री– वितरण गर्दै आएको छ । समूहमा २०÷२२ जना सदस्य रहेको भए पनि उत्पादनको काममा भने थोरै मात्र सहभागी रहेको मिठ्ठू खत्रीले बताउनुभयो ।
महादेवथान उद्यमी समूहले उत्पादन गरेको झोला चार सयदेखि १२ सयसम्ममा बिक्री गरिने उहाँले बताउनुभयो । मिठ्ठू खत्री भेडा तथा गाई– भैँसी पालनसँगै अल्लोको डोरी बनाउने तालिम दिन समेत विभिन्न ठाउँमा जाने गर्नुभएको छ । एक पटक तालिम चलाउन जाँदा ६० हजारसम्म आम्दानी हुने उहाँको भनाई छ ।तर अझै पनि उद्यमी समूहलाई व्यवसायीक रूपमा भने सञ्चालन गर्न नसकिएको मिठ्ठू खत्रीले गुनासो गर्नुभयो । त्यसको लागि उत्पादित सामानको बजार खोज्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
महादेवथान उद्यमी समूहको लागि भवन निर्माण र मेशिन खरिद गर्न वडा र प्रदेशले सहयोग गरेको छ । समूहको लागि वडाले ६ लाख रुपैयाँ दिएको वडा नं. ६ का वडा अध्यक्ष भरत पाण्डेले बताउनुभयो ।
वडाले आगामी दिनमा उत्पादित सामानको बजारीकरण र थप सहयोग उपलब्ध गराउने वडा अध्यक्ष पाण्डे बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्