तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युवा क्लबको पहिलो जित

काठमाडौँ । फरवार्ड फोडे फोफानाको गोल निर्णायक बन्दा सातदोबाटो युवा क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सातदोबाटोले मनाङ मर्स्याङ्दीको चुनौती १–० ले पन्छायो । फोफानाले खेलको ६१औँ मिनेटमा डेढलक तोडेका थिए ।

तेस्रो खेलमा आएर सातदोबाटोको जित सम्भव भएको हो । पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको सातदोबाटोले त्यसपछि न्यु रोड टिम(एनआरटी)सँग ३–१ को नमिठो हार बेहोरेको थियो ।

मनाङको यो लगातार तेस्रो पराजय हो । मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५–० को फराकिलो हार बेहोरेको थियो । अघिल्लो खेलमा मनाङले मच्छिन्द्र क्लबलाई २–१ ले नतिजा सुम्पिएको थियो ।

पहिलो खेलमा श्री भगवती क्लबले नव जनजागृति क्लबलाई ५–१ गोलले हरायो । श्री भगवतीका लागि कप्तान शिशिर लेखीले दुई तथा मार्टिन्स कायोडे सिलोई अजाई, सुवास बम र सीमान्त थापामगरले समान एक गोल गरे । पाँच गोलले पछाडि परेको अवस्थामा विक्रम थोकरले जनजागृतिका लागि सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button