तपाईँ सुन्दै हुनुहुन्छः

इलामका चापागाईँको सुन्तला खेतीबाट वार्षिक १४ लाख आम्दानी

इलाम । इलाम नगरपालिका–५ का किसान साम्बेद चापागाईँले सुन्तला खेतीमार्फत गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। २०६० सालदेखि सुन्तला खेती विस्तार गर्दै आएका चापागाईँको बगैँचामा हाल करिब ४ सय वटा उत्पादनशील सुन्तलाका बोट छन्।

बिहानदेखि बेलुकासम्म बगैँचामै समय बिताउने चापागाईँको दैनिकी बिरुवाको स्याहार–सम्भारमै केन्द्रित हुन्छ। सुरुमा थोरै बिरुवा लगाएर खेती थालेका उनले निरन्तर मेहनतका कारण आज ठूलो व्यावसायिक बगैँचा तयार गर्न सफल भएका छन्। उनका परिवारका छ सदस्य यही पेशामै निर्भर छन्।

चापागाईंका अनुसार सुन्तला खेतीबाट यो बर्ष मात्र १४ लाख रुपैयाँ आम्दानी गरेको छ। उत्पादनमा कहिलेकाहीँ घटबढ भए पनि कृषिप्रति उनको विश्वास कहिल्यै कमजोर भएन। “कृषिमा लगानी गर्न सके देशमै सम्भावना छ। विदेश जाने सोच गर्नु अघि आफ्नै माटोमा पसिना बगाएर पनि राम्रो जीवन चलाउन सकिन्छ,” उनी भन्छन्।

उनको बगैँचाको अर्को विशेषता भनेको अहिलेसम्म रासायनिक मल प्रयोग नगरिनु हो। उनी गोठमल, कम्पोस्ट तथा प्राकृतिक विधिबाटै बिरुवाको पोषण व्यवस्थापन गर्दै आएका छन्। “माटो जोगाउनुपर्छ। दीर्घकालसम्म खेती गर्न जैविक तरिका नै उपयुक्त लाग्छ,” उनले बताए।

चापागाईँले आधुनिक प्रविधिको प्रयोग गर्दै नियमित सिँचाइ व्यवस्था, बगैँचाको हेरचाह र रोग नियन्त्रणमा विशेष ध्यान दिँदै आएका छन्। अहिलेसम्म सुन्तलामा कुनै गम्भीर रोग नलागेको उनको भनाइ छ।

उनको योगदानको कदर गर्दै इलाम नगरपालिकाले गत वर्ष उनलाई सम्मानसमेत गरेको थियो। उक्त सम्मानले आफूलाई थप हौसला मिलेको बताउँदै उनले भविष्यमा सुन्तला खेती अझ विस्तार गर्ने योजना सुनाए।

“हामी किसानले आत्मविश्वास राख्नुपर्छ। सरकारले सहयोगी नीति बनायो भने गाउँमै रोजगारी सिर्जना हुन्छ। म जस्तै अरू युवाले पनि कृषितर्फ फर्किनुपर्छ,” चापागाईं भन्छन्।

स्थानीय तहमा सफल व्यावसायिक कृषकका रूपमा परिचित चापागाईँको कथा अहिले इलाम क्षेत्रमा प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button