तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र लोकतन्त्र जोगाउन कांग्रेस निर्वाचनमा सक्रियः सभापति पुन

बाँके। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संविधान, लोकतन्त्र र वर्तमान व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस निर्वाचनमा सक्रिय रूपमा होमिएको बताउनुभएको छ ।

बाँके क्षेत्र नम्बर ३ अन्तर्गत खजुरामा बुधबार आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सभापति पुनले जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक अवस्था र अप्ठ्यारोमा परेको व्यवस्थालाई सुरक्षित गर्न निर्वाचन नै लोकतान्त्रिक र उपयुक्त विकल्प भएको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई थाती राखेर कांग्रेस एकताबद्ध रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कमजोरी सच्याएर अघि बढ्नुपर्ने अवस्था छ,” पुनले भन्नुभयो, “एक–अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन ।”

विगत ३० वर्षदेखि बाँकेमा सक्रिय रहेको उल्लेख गर्दै पुनले यसपटकको प्रतिनिधिसभा निर्वाचन बाँकेबाटै लड्ने निर्णय पार्टीले गरेको जानकारी दिनुभयो । बाँके क्षेत्र नम्बर ३ बाट प्राप्त सिफारिसकै आधारमा आफू उम्मेदवार बनेको उहाँको दाबी छ ।

“२०५२ सालदेखि जानकी गाउँपालिकामा घरबास बनाएर बसेको छु । बाँकेमा पार्टी र संगठन निर्माणमा निरन्तर लागिरहेको छु,” उहाँले भन्नुभयो, “उम्मेदवार कहाँको भन्नेभन्दा पनि पार्टीले दिएको जिम्मेवारी नै महत्वपूर्ण हो ।”

तत्कालीन सह–महामन्त्री किशोरसिंह राठौंर बर्दियाबाट निर्वाचन लड्ने भएपछि बाँके क्षेत्र नम्बर ३ मा सबै पक्षलाई समेट्न सक्ने नेताका रूपमा आफूलाई टिकट दिइएको पुनले बताउनुभयो । टिकट टुंगो लगाउने बेला आफू संसदीय बोर्डको बैठकमा उपस्थित नभएको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा जानकी गाउँपालिकाका सचिव तथा वडा नम्बर ५ का वडाध्यक्ष टिकानाथ यादवले सभापति पुनलाई निर्धक्क भएर निर्वाचनमा होमिन आग्रह गर्दै स्थानीय तहबाट पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।

भेला नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न भएको थियो । भेलामा पार्टीका केन्द्रीय तथा स्थानीय नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button