दोलखामा ३३ जनाको उम्मेदवारी
दोलखा । आगामी फागुन– २१ गतेको लागि घोषित निर्वाचनमा दोलखाबाट प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेबाट पूर्व मन्त्री पार्वत गुरुङले मनोनयन दर्ता गराएका छन् । नारा जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गुरुङले दिउँसो करिब १ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मनोनयन दर्ता गराएका छन् । नारा जुलुस सहित दिउँसो करिब ४ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शिवाकोटीले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले मनोनयन दर्ता गराएका छन् । उनले करिब २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
फागुन २१ को निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता जगदिश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । ठूलो सङ्ख्यामा नेता– कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका खरेलले करिब ११ः३० बजे मनोनयन दर्ता गराएका हुन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवीण कुमार थोकर, नेपाल मजदुर किसान पार्टीबाट विमला श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट निमा दोर्जे लामा, मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट कुमार तामाङले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
निर्वाचनको लागि दोलखाबाट १४ वटा राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ३३ जनाले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्