मनोनयन दर्तासँगै सुनसरीमा चुनावी सरगर्मी, चारवटै क्षेत्रमा उम्मेदवारको भीड

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशैभर राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका छन्। सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि बिहानैदेखि उम्मेदवार तथा समर्थकको भीड निर्वाचन अधिकृतको कार्यालयमा देखिन्छ यो समाचार तयार पारुन्जेलसम्म सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा ११ वटा दलले मनोनयन दर्ता गरिसकेका छन् भने ३ वटा मनोनयन प्रक्रियामा छन्। निर्वाचन क्षेत्र नम्बर २ मा ५ वटा मनोनयन दर्ता भएका छन् भने २ वटा प्रक्रियामा रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा १२ वटा मनोनयन दर्ता भएका छन्, जसमध्ये ९ वटा राजनीतिक दलका र ३ वटा स्वतन्त्र उम्मेदवारका हुन्।
निर्वाचन क्षेत्र नम्बर ४ मा १४ वटा मनोनयन दर्ता भएका छन् भने थप ५ वटा मनोनयन लाइनमा रहेको निर्वाचन अधिकृत प्रकाश राउतले बताउनु भएको छ।
मनोनयन दर्तासँगै सुनसरीमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन मुख्य अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर पाँच लाख ८० हजार ९ सय ४५ जना मतदाता कायम रहेका छन्।
ती मतदाताका लागि जिल्लामा १सय ६७ वटा मतदान स्थल र ६सय २४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान स्थल व्यवस्थापन, सुरक्षा तयारी तथा आवश्यक जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको छ।








प्रतिक्रिया राख्नुहोस्