तपाईँ सुन्दै हुनुहुन्छः

‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्र’ ग्रन्थ लोकार्पण

काठमाडौँ। नेपाली कथा साहित्यकी सशक्त कथाकार इन्दिरा प्रसाईँका कथामाथि केन्द्रित समालोचनात्मक ग्रन्थ ‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्र’ को आज राजधानीमा लोकार्पण गरिएको छ। उक्त ग्रन्थ प्रा.डा. दयाराम श्रेष्ठद्वारा लेखिएको हो।

वानीरा फाउन्डेसनद्वारा आयोजित समारोहमा प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ग्रन्थको लोकार्पण गर्दै नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईँका कथामाथि समालोचना गरेर ठुलो न्याय गरेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा लेखक प्रा.डा. दयाराम श्रेष्ठले यस कृतिमा कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरिएको उल्लेख गर्दै यसलाई आफ्नो प्रयोगात्मक अध्ययनको नमुना तथा अभियानको प्रथम कोसेलीका रूपमा व्याख्या गर्नुभयो।

नइ एकेडेमीबाट प्रकाशित उक्त ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले यो कृति नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथा अध्येता तथा अनुसन्धानकर्ताहरूका लागि मार्ग निर्देशक बन्ने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा कथाकार इन्दिरा प्रसाईँले प्रस्तुत ग्रन्थलाई आफ्नो लेखन यात्राको स्वर्णिम उपलब्धि भएको बताउनुभयो।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले कृतिबारे प्रकाश पार्नुभएको थियो।

त्यस अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. ३१ का अध्यक्ष तथा समाजसेवी सरोज ढकालले नेपाली साहित्यकी विश्व नारी रत्न वानीरा गिरीको सम्मानमा उक्त क्षेत्रलाई ‘वानीरा मार्ग’ नामकरण गरिएको जानकारी दिनुभयो।

उल्लेखनीय छ, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुन्। उहाँले ३६ वर्ष प्राध्यापन गर्नुभएको छ भने हालसम्म उहाँका ३० वटा कृति प्रकाशित भइसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button