तपाईँ सुन्दै हुनुहुन्छः

‘पेन्गुइन रिभोलुसन’ र ‘सवारी साहित्य’ बाट सुरु भयो टोलटोलमा फिल्म महोत्सव’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आजदेखि ‘टोलटोलमा फिल्म महोत्सव’ सुरु भएको छ । 

शुक्रबार खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित लघु चलचित्र ‘सवारी साहित्य’ र इशान भुसाल निर्देशित लघु चलचित्र ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन हुनेछन् । 

कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेसनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका हुन् । 

कार्यक्रमको प्राविधिक पक्ष कामपाले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका खुला आह्वानबाट स्थानीय सङ्घसंस्थाहरू छनोट गरेको छ । यसअन्तर्गत आजको कार्यक्रम इकोज इन द भ्यालीले आयोजना गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । भोलि असन क्षेत्रमा महोत्सव हुनेछ । 

येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लबले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् । 

सार्वजनिक स्थल, पार्क, डबली, चोकहरूमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजनाअनुरूप यी स्थान छानिएका हुन् । 

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यो महोत्सवको मुख्य उद्देश्य रहेको कामपाको भनाइ छ । 

कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ लाई नगद रु १० लाखसहित सम्मान गरिने भएको छ ।   

विसं २०८३ वैशाख २९ देखि जेठ ९ गतेसम्म फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा अविनाशविक्रम शाह निर्देशित नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग ९तिनीहरू०’ले ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो । 

कान्स प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर आठ मिनेट लामो तालीबाट सम्मान दिनुभएको थियो । 

नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशकसहित सम्पूर्ण टोलीलार्ई सम्मान प्रदान गर्न लागेको कामपाले जानकारी दिएको छ । 

नेपालको काठमाडौँ र फ्रान्सको कान्स दुवै नगर ‘चलचित्र विधा’बाट ‘युनेस्को क्रियटिभ सिटिज नेटवर्क’को सदस्य  भइसकेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button