तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ६ पार्टीका उम्मेदवारको टुङ्गो 

सल्यान । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सल्यानमा क्रियाशील ६ राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । 

उम्मेदवारी दर्ताको एक दिनअघि मात्र मुख्य राजनीतिक दल नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हो । 

नेपाली काँग्रेसले जिल्ला सभापति केश बहादुर विष्ट, नेकपा एमालेले कर्णाली प्रदेश अध्यक्ष गुलाब जंग शाह, नेपाली कम्युनिस्ट पार्टीले रमेश कुमार मल्ल, नेकपा (माओवादी) चन्द्र बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली उम्मेदवार बन्नुभएको छ । 

२०७९मा पालिका हारेका विष्ट प्रतिनिधिसभाको उम्मेदवार 
नेपाली काँग्रेसका जिल्ला सभापति केश बहादुर विष्ट २०७४ मा जिल्ला समन्वय समितिको सभापति हुनुभएको थियो । 

नेपाली काँग्रेस सल्यानको उपसभापति तथा नेपाल शिक्षक सङ्घको जिल्ला अध्यक्षसम्मको अनुभव संगाल्नु भएका विष्ट २०७९ को स्थानीय तहको निर्वाचनमा भने पराजित हुनुभएको थियो । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा उहाँ एमालेका ओज बहादुर बुढाथोकीसँग पराजित हुनुभएको थियो । 

प्रदेश सभामा पराजित शाह
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाब जंग शाह अहिलेसम्म चार पटक चुनावी मैदानमा उत्रिएको मा तीन पटक हार र एक पटक मात्र जित हात पार्न सफल भएको छ । 

तत्कालीन बामदेव गौतमको नेकपा (माले) बाट २०५५, २०७०, २०७४ र २०७९ मा उम्मेदवार बन्नु भएका शाह २०७४ मा कर्णाली प्रदेश सभा क बाट तत्कालीन एमाले र माओवादी गठबन्धनबाट निर्वाचित हुनुभएको थियो । 

२०७९ को निर्वाचनमा सल्यान प्रदेश सभा सदस्य (ख)बाट नेपाली काँग्रेसका सुरेश अधिकारीबाट पराजित हुनु भएको थियो । 

पहिलो पटक चुनाव लड्दै नेकपाका मल्ल 

लामो समयसम्म प्रचण्डको स्वकीय सचिव रहेका रमेश कुमार मल्ल पहिलो पटक चुनावी मैदानमा उत्रिँदै छन् । विद्यार्थी सङ्गठनबाट राजनीतिमा होमिएका मल्ल अखिल क्रान्तिकारीको पूर्व अध्यक्ष समेत रहिसक्नुभएको छ । दुई पूर्व मन्त्रीलाई छोडेर पार्टीले पहिलो पटक नयाँ अनुहारलाई स्थान दिएको हो । 

पूर्व मन्त्री टेक बहादुर बस्नेत र प्रकाश ज्वालाको पनि दाबी भएपनि अन्तमा दुवैले दाबी छोडेपछि मल्लले टिकट पाउनु भएको हो । 

नयाँ अनुहार चन्द्र बहादुर खड्का 

तत्कालीन नेकपा (माओवादी) को सैन्य कमान्डरको भूमिका निर्वाह गरेका चन्द्र बहादुर खड्कालाई विप्लव नेतृत्वको नेकपा माओवादीले पहिलो पटक चुनावमा उम्मेदवार बनाएको छ । सैन्य अनुभव र सबैसँग समन्वय र सहकार्य गर्न सक्ने खुवी खड्कामा रहेको छ । 

रास्वपाबाट ललित चन्द 
राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले प्रतिनिधि सभाका लागि नयाँ अनुसार पठाएको छ । कर्णाली प्रदेश अध्यक्ष ललित चन्दलाई यस पटक रास्वपाले चुनावी मैदानमा उतारेको हो । यसअघि पवनराज देवकोटा उम्मेदवार बन्नुभएको थियो । उहाँले ३६९५ मत ल्याउनुभएको थियो । 

समानुपातिक सदस्य अनिशा नेपाली 
२०७९ को राप्रपाबाट प्रतिनिधिसभा चुनावमा समानुपातिकमार्फत सांसद बन्नुभएको अनिशा नेपाली यस पटक प्रत्यक्ष तर्फ टिकट पाउनुभएको छ । 

राप्रपाको केन्द्रीय सदस्य समेत रहनुभएकी नेपाली पहिलो पटक चुनावी मैदानमा उत्रिँदै हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button