आठौँ एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न
चितवन । चितवन प्रदर्शनी केन्द्रमा सञ्चालित तीन दिने आठौँ एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ ।

माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो । मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीन दिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिनुभयो । ‘एक्स्पो छोटो भए पनि अवलोकनकर्ताको रुचि धेरै पायौँ । उहाँहरूले प्रविधि र प्रडक्टको बारे बुझ्ने, जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, सबै प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ ।’

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोमा आशा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउनुभयो । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत विषयगत क्षेत्रका अवलोकन कर्ताको उत्साहजनक सहभागिता भएको उहाँले बताउनुभयो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको थियो । तीन दिनसम्म भएको अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्