एक सातादेखि फोहोर नउठ्दा पोखराका सडकै भरी फोहोरको थुप्रा,
सार्वजनिक स्थलहरूमा फोहोर नफाल्न महानगरको आग्रह
पोखरा । पोखरा महानगरपालिकामा एक साता भन्दा बढी समय देखि फोहोर उठ्न नसक्दा सहरका सडक क्षेत्र फोहोरकाे थुप्राेले भरेका छन् । पोखरा वडा नम्बर ३२ को लाम आहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि त्यहाँ फोहोर लैजान पुसको अन्तिम सातादेखि बन्द गरेसँगै अर्को विकल्प नहुँदा पोखराको सडकमा थुप्रिएको फोहोर एक सात भन्दा बढी समय देखि उठ्न सकेको छैन ।
ल्यान्डफिल भरिएसँगै महानगरले वैकल्पिक व्यवस्था गर्न नसक्दा एक साता भन्दा बढी समयदेखि फोहोर सडक किनारमै थुप्रिएको स्थानीकाे गुनासो रहेकाे छ । पोखराका मुख्य चोक तथा बजार क्षेत्रहरूमा स्थानीयवासीले फोहोर ल्याएर थुपार्न थालेपछि वातावरण अत्यन्तै दुर्गन्धित बन्न थालेको छ ।
स्थायी ल्यान्डफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लाम आहालमै फोहोर विसर्जन गर्दै आएको थियो । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट विमानस्थलको दुई किलोमिटर परिधि भित्र परेकाले बन्द गरिएको थियो । त्यसयता अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको महानगर अझै स्थायी ल्यान्डफिल व्यवस्थापन गर्न कठिन भएको छ ।
महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख हर्क गायकले अस्थायी ल्यान्डफिल साइट भरिएको र वैकल्पिक व्यवस्था हुन नसक्दा समस्या उत्पन्न भएको बताउनु भयो । “लामेआहालको अस्थायी ल्यान्डफिल भरियो,गत पुष २७ गतेदेखि फोहोर सडकमै थुप्रिएको छ,” उहाँले भन्नुभयो ।
पोखरा महानगरमा दैनिक करिब दुई सय टन फोहोर उत्पादन हुने गरेको छ । वडा नम्बर ३३ मा आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना भए पनि स्थानीय विवादका कारण काम अघि बढ्न सकेको छैन।
यसैबीच, पोखराका मेयर धनराज आचार्यले फोहोर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको बताउँदै स्थायी समाधान नहुँदासम्म सहरको सरसफाइ व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएकोले तत्काल घर तथा व्यवसायीहरूले सार्वजनिक स्थल तथा सडकमा फोहोर नफाल्न नगरबासीलाई आग्रह गर्नुभएकाे छ । यसैबिच, पोखरा महानगरपालिकाले नगरभित्र उत्सर्जन हुने फोहोरमैला व्यवस्थापनमा केही व्यवधान उत्पन्न भएको एक सूचना जारी गर्दै पछिल्लो विकसित समस्याका कारण फोहोर सङ्कलन तथा व्यवस्थापन प्रभावित बनेको जनाएको छ ।
समस्याको निराकरणका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै महानगरका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले समाधान नहुँदासम्म घर, व्यावसायिक स्थल तथा अन्य क्षेत्रबाट निस्कने फोहोर सार्वजनिक स्थल, सडक, चोक, बसपार्क, ताल–पोखरी तथा नदी किनारमा जथाभाबी नफ्याँक्न नगरवासीहरूलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्