बैजनाथमा उप–प्रमुख कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता आजदेखि
बाँके। बैजनाथ गाउँपालिकामा विद्यार्थी खेलाडीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी शनिबार बैजनाथ गाउँपालिका–६ लालपुरस्थित गाउँपालिका स्तरीय रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । प्रतियोगिता बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुँदैछ ।
खेलकुद विकास समिति सदस्य कुलबहादुर भण्डारीले व्यवस्थापन तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनको अध्यक्षता गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको उपस्थिति रहेको थियो । सम्मेलनमा फिल्ड मार्सल संयोजक राजेश यादवसहित खेलकुद विकास समिति पदाधिकारीहरूको सहभागिता थियो ।
गाउँपालिका अध्यक्ष शाहीले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउने, लुकेका प्रतिभाको पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धात्मक संस्कृतिको विकासका लागि यस्तो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । प्रतियोगिता माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आधारभूत तहअन्तर्गत छात्रा १४९ र छात्र १४८ गरी कुल २९७ जना विद्यार्थी खेलाडी सहभागी हुनेछन् । यस तहमा १०० मिटर दौड, ४×१०० मिटर रिले दौड र लङ जम्प प्रतियोगिता हुनेछन् । प्रथम हुने विद्यालयलाई नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी माध्यमिक तहमा एथलेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले दौड, लङ जम्प, सटपुट, ज्याब्लिन र ट्रिपल जम्प समावेश छन् । मार्सल आर्ट्सतर्फ तेक्वान्दो र करातेमा छात्र–छात्राबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।
माध्यमिक तहमा समग्र प्रथम हुने विद्यालयलाई नगद रु. ४० हजार, द्वितीयलाई रु. २५ हजार र तृतीयलाई रु. १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधाका उत्कृष्ट खेलाडीलाई जनही रु. २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । आधारभूत र माध्यमिक तह दुवैको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई जनही रु. १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष तथा सभाध्यक्ष निर्मला रोकायले राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, विद्यालय, प्रशिक्षक, खेलाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण बैजनाथवासीलाई प्रतियोगिता सफल बनाउन सहयोगका लागि आह्वान गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्