तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : प्रतिनिधिसभाका उम्मेदवार तय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

“केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लागेको छ”, उहाँले भन्नुभयो, “टुङ्गो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।” उहाँका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौँ क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button