आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो शुरु
चितवन । बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मधुसूदन पौडेलले कृषिजन्य व्यावसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुँच र प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।

चितवन प्रदर्शनी केन्द्रमा आजबाट शुरु भएको आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्ने क्रममा उहाँले विदेशका प्रविधिहरू नेपालमा भित्र्याउँदै उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभयो । कृषकले निर्वाहमुखी भन्दा पनि व्यावसायिक उत्पादन गर्न कृषि प्रविधिको भरपुर प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले समयमै रासायनिक मल प्राप्त गर्न, प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न सरकार लागिरहेको बताउनुभयो । सो क्रममा स्टल प्रदर्शकले मन्त्री पौडेल समक्ष सरकारका नीति, भन्सार तथा करका समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीमा देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्