इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
इलाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरूप इलाममा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। इलाम सदरमुकामस्थित बार भवनमा कार्यालय स्थापना गरिएको हो।

निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवार दर्ता, उजुरी व्यवस्थापन तथा निर्वाचनसम्बन्धी प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो। स्थानीय तहसम्म निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने आयोगको लक्ष्य रहेको छ।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी रोशन गजुरेललाई दिइएको छ। कार्यालय स्थापना कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने माघ ७ र ८ गते मनोनयन पत्रमाथि जाँचबुझ गरी निर्णय गरिनेछ।
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार फागुन २१ गते मतदान हुनेछ।
कार्यालय स्थापनासँगै इलाममा आगामी निर्वाचनको तयारी तीव्र रूपमा अघि बढेको छ। मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले निर्वाचन गर्नु, गराउनु र त्यसमा सहभागी हुनु सबैको साझा दायित्व भएको बताए।








प्रतिक्रिया राख्नुहोस्