रौतहटका सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरूप रौतहट जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

चार निर्वाचन क्षेत्र रहेको रौतहट जिल्लाका सबै निर्वाचन क्षेत्रमा शुक्रबारदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का लागि सदरमुकाम गौरस्थित आन्तरिक करदाता सेवा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो । यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ का लागि कटहरिया नगरपालिकाको कार्यालयमा तथा निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका–५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको प्रमुख दासले बताउनुभयो ।
निर्वाचन अधिकृतका रूपमा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश मनोज केसी मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा इजलास अधिकृत सिताराम खड्का, निर्वाचन क्षेत्र नम्बर ३ मा उपसचिव अवध किशोर प्रसाद कुश्वाहा तथा निर्वाचन क्षेत्र नम्बर ४ मा उपरजिस्ट्रार उद्धव ढोडारी निर्वाचन अधिकृतको रूपमा खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्