तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बर्दिबास । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको जलेश्वरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जलेश्वर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत महोत्तरीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । 

निर्वाचनसम्बन्धी उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, प्रशासनिक काम–कारबाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित कामहरू सञ्चालन गर्न कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र १ को लागि बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यालय, निर्वाचन क्षेत्र २ को लागि  आधारभूत अस्पतालको भवन बलबा नगरपालिका ७ बनौटा र निर्वाचन क्षेत्र नं. ४ को लागि महेन्द्र रा मा वि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँका अनुसार महोत्तरी क्षेत्र नं. १ को लागि गगनदेव महतो , क्षेत्र नं. २ को लागि शोभाकर खरेल र क्षेत्र नं. ४ मा नारायण प्रसाद चापागाईँ निर्वाचन अधिकृत रहनुभएको छ । 

महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिएपछि चार लाख ३१ हजार २८२ मतदाता पुगेका निर्वाचन कार्यालय महोत्तरीले जानकारी दिएको छ । यस अघि ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीमा तीन लाख ९७ हजार ३० मतदाता रहेको थियो । 

जिल्ला निर्वाचन कार्यालयले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी  कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button