नुवाकोटबाट ल्याइएको गोरु धनकुटाको साँढे जुधाइ प्रतियोगितामा प्रथम

धनकुटा । माघे संक्रान्ति पर्वको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–७ स्थित मुगामा आयोजना गरिएको साँढे जुधाइ प्रतियोगितामा नुवाकोटबाट किनेर ल्याइएको गोरुले प्रथम स्थान हासिल गरेको छ।
पाख्रीवास नगरपालिका–१० खत्री गाउँका युनिक विश्वकर्माले नुवाकोटबाट १ लाख ५० हजार रुपैयाँमा खरिद गरी ल्याएको गोरु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भएको हो। विश्वकर्माले जुधाइ प्रतियोगिताकै लागि विगतमा नुवाकोटमा भएका साँढे जुधाइमा उत्कृष्ट प्रदर्शन गरेको गोरु खरिद गरेर ल्याएको जानकारी दिनुभयो।
प्रतियोगितामा राजकुमार दाहालको गोरुले दोस्रो तथा रामकुमार राईको गोरुले तेस्रो स्थान हासिल गरेका छन्। प्रथम हुने गोरु धनीले नगद ४० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक गोपाल बराइलीले जानकारी दिनुभयो।
धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा साँढे जुधाइ प्रतियोगिता आयोजना हुँदै आएको छ। प्रगतिशील सेवा समाज पाख्रीवास र पाख्रीवास नगरपालिकाको सहयोगमा माघे मेलाको आयोजना गरिएको हो। यस वर्ष पनि माघ १ गते मुगाको गजेगैरीमा प्रतियोगिता सम्पन्न भएको हो, जहाँ ९ हल गोरु सहभागी थिए।
आयोजक बराइलीका अनुसार गोरु जुधाइलाई स्थानीय संस्कृति, पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडेर हेरिएको छ। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा चहलपहल बढाउनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रतियोगिता हेर्न छिमेकी जिल्लाबाट समेत दर्शकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले यस क्षेत्रको पर्यटन विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार तथा व्यक्तिगत तवरबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
माघे संक्रान्तिको अवसरमा गजेगैरी क्षेत्रमा डोरी तान्ने प्रतियोगिता लगायत अन्य सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्