शान्ति,सुशासन र विकासको आकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौँ: राष्ट्रपति
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बागलुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभएको हो ।

“हामीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यही दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ । यो हामीले बिर्सन हुन्न। जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसङ्गतिको अन्त्य गरी विकासको गतिलाई तीव्रता दिनु आजको आवश्यकता हो । परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र होइन सबै नेपालीको आवाज र चाहना पनि यही हो”, उहाँले भन्नुभयो, “यसका लागि जनचाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय भनेकै निर्वाचन हो । त्यसैले, आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । सुन्दर र सुरम्य धौलागिरिको यस पवित्र भूमिबाट म पुनःएकपटक आम नेपाली जनतालाई यसका लागि आव्हान गर्दछु ।”

राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समन्वय र सहकार्यबाटै निर्वाचनको यस महायज्ञलाई सफल पार्न आग्रह पनि गर्नुभयो ।
“ शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीनतम आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो ।”
राष्ट्रपति पौडेलले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्र प्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढङ्गले युगानुकूल शैक्षिक क्रियाकलापका नवीनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रको भविष्य र राष्ट्र नवनिर्माणको मुख्य आधारशीलानै शिक्षा भएको र यसलाई सरकारले सधैँ प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “ देश विकासको लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता हो । नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनुपर्दछ भन्ने म ठान्दछु ।”
राष्ट्रपति पौडेलले जहाँनीया राणा शासन विरुद्ध परिवर्तनको दियो बालेर चेतना जागृत गर्ने तीव्र आकाङ्क्षा र हुटहुटी भएका अग्रजहरूको अग्रसरताबाट स्थापना भएको जिल्लाकै दोस्रो पुरानो उक्त विद्यालयले नेपालको शैक्षिक इतिहासमा आज आफ्नो गौरवमय इतिहास निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै पुरातनवादी सोच र अन्धकारबाट उज्यालोतर्फ नेपाली समाजलाई अघि बढाउने हाम्रा ती अग्रजहरूको सत्कार्य स्तुत्य रहेको उल्लेख गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्