निःशुल्क आँखा शिविर: डा. रुइतको टोलीद्वारा ४३८ जनाको आँखाको शल्यक्रिया
उदयपुर । उदयपुर जिल्लाका आँखाका बिरामीलाई लक्षित गर्दै सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले चौदण्डीगढी, त्रियुगा नगरपालिका तथा तिलगंगा आँखा अस्पताल काठमाडौँको आयोजनामा र भिजन हिमालय फाउन्डेसनको सहयोगमा उक्त शिविर १० दिनसम्म सञ्चालन गरिएको हो।

गत पुस १९ गतेदेखि चौदण्डीगढी नगरपालिका वडा नम्बर १ र ८ बाट सुरु भएको शिविरमा कुल ३ हजार ८ सय ९१ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५५९ जनामा आँखाको गम्भीर समस्या देखिएको र उनीहरूलाई तत्काल शल्यक्रिया आवश्यक पर्ने पहिचान गरिएको थियो ।
पहिचान गरिएका बिरामीमध्ये प्रख्यात नेत्र विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको टोलीले पुस २८, २९ र ३० गते चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित कोभिड अस्पतालमा शल्यक्रिया सम्पन्न गरेको हो। तीन दिनसम्म सञ्चालन गरिएको शल्यक्रियामार्फत ४३८ जनाको आँखाको सफल शल्यक्रिया गरिएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख हिमाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार शल्यक्रियाका लागि छनोट भएका ५५९ मध्ये १२१ जना उपस्थित हुन सक्नु भएन ।

चौदण्डीगढी नगरपालिकाले हरेक वर्ष तिलगंगा आँखा अस्पताल काठमाडौँ र भिजन हिमालय फाउन्डेसनको सहकार्यमा यस्ता बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ। नगर प्रमुख कालुमान लामाका अनुसार विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यस शिविरबाट हालसम्म १० हजार ८ सय ३४ जनाले आँखा जाँचको सेवा लिइसकेका छन् । उक्त शिविरबाट १ हजार ६ सय ३५ जना शल्यक्रियाका लागि छनोट भएका थिए । तीमध्ये हालसम्म १ हजार २ सय ४० जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ। अहिले सम्म सञ्चालित शिविरहरूमा यस बर्ष डा. सन्दुक रुइत आफैँ आउने भएपछि बिरामीको सङ्ख्या बढेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लुङ्गाराज राईले बताउनुभयो ।

नगरपालिकाले आर्थिक अवस्था कमजोर, विपन्न तथा पहुँचबाहिर रहेका नागरिकहरूलाई कुनै पनि प्रकारको आर्थिक भार नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क रूपमा आँखाको उपचार तथा शल्यक्रियामार्फत दृष्टि पुनःस्थापना गर्ने लक्ष्य लिएर यो बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।

दश दिनसम्म सञ्चालन गरिएको शिविर सफलतापूर्वक सम्पन्न भएपछि तिलगंगा आँखा अस्पताल, काठमाडौँ तथा भिजन हिमालय फाउन्डेसनको टोलीलाई चौदण्डीगढी नगरपालिको आयोजनामा ‘फेरि भेटौँला’ कार्यक्रमसहित औपचारिक रूपमा बिदाइ गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्