तपाईँ सुन्दै हुनुहुन्छः

सोनाम ल्होछारको अवसरमा राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

मकवानपुर । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मञ्जुश्री संवत् २८६२ (ता ल्हो÷घोडा वर्ग) सोनाम ल्होछारलाई हर्षोल्लासका साथ मनाउन गाउँपालिकाले यही माघ ४ र ५ गते गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मङ्गलवार शुभकामना सन्देश जारी गर्दै माघ ५ गते माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो । शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक र जातीय विविधतायुक्त राक्सिराङ गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता, बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गर्दै शान्त, समुन्नत र समृद्ध गाउँपालिका निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङमा पर्वलाई खुसीयालीपूर्वक मनाउन सार्वजनिक बिदाका दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था तथा बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ । सबै समुदायका पर्वलाई सम्मानजनक ढंगले मनाउने उद्देश्यले राष्ट्रिय तथा स्थानीय पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button