विधायन व्यवस्थापन समिति बैठक: पर्यटन विधेयकमा छलफल
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफल भएको छ ।

समितिको आज बसेको बैठकमा हिमालचुलीको आरोहण र नामाकरण, पर्वतारोहणका लागि अनुमति, हिमालचुलीमा साहसिक खेल, पर्वतारोहण योजना र रोयल्टीका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा सांसदहरू डा. वेदुराम भुसाल, सुरेशकुमार आलेमगर, राजेन्द्रलक्ष्मी गैरे, झक्कुप्रसाद सुवेदी, गोपाल भट्टराईलगायतले पथप्रदर्शक अनुमति पत्रका लागि मान्यता प्राप्त संस्थाबाट तालिम अनिवार्य गरिनुपर्ने, सातहजारमिटर भन्दा कम उचाइको हिमाल आरोहणको अनुमति प्रदेश सरकारले दिनुपर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो ।
बैठकमा सांसदहरूले हिमालचुलीहरू पर्यटकीय हिसाबले प्रयोग गर्नुपर्नेसँगै संरक्षणका लागि पनि कानुनी व्यवस्था गर्नुपर्ने र हिमालहरूमा अल्ट्रालाइट खेल प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिनुभयो ।

हिमालको सरसफाइ, उचित प्रयोग र हिमालसँग सम्बन्धित गतिविधिका लागि नेपाल पर्वतारोहण सङ्घसँग सहकार्य गर्ने गरी कानुन संशोधन गर्नुपर्नेमा जोड दिँदै सांसदहरूले प्रदेशमा हाल स्थापना भएका पर्यटनसँग सम्बन्धित संस्था र विभागलाई कानुनी दायरामा समेट्ने गरी पर्यटन विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्