स्वास्थ्य र शिक्षालाई विपन्न वर्गको पहुँचमा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध’
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई विपन्न वर्गको पहुँचमा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पर्साको पोखरीया प्रादेशिक अस्पताल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री यादवले मधेसको स्वास्थ्य र शिक्षा क्षेत्र कमजोर रहेको हुँदा यसलाई सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले पर्साको ग्रामीण क्षेत्रमा स्थापित पोखरीया अस्पतालले आधा पर्साका ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवा दिने उल्लेख गर्दै मधेस सरकारले पोखरीया अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तर उन्नति गरी स्वास्थ्य सेवा उपलब्ध गराएको बताउनुभयो ।
मुख्यमन्त्री यादवले पोखरीया अस्पतालसँगै मधेस प्रदेशमा रहेका सबै प्रादेशिक अस्पतालहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँदै अस्पताल तथा शिक्षण संंस्थाहरुको समुचित विकास र व्यवस्थापनमा प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले मधेस प्रदेशका विद्यालय तथा स्वास्थ्य संस्थालाई व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै वीरगञ्ज तथा जनकपुरमा डेरा जमाएका चिकित्सकहरूलाई दरबन्दी अनुसार ग्रामीण क्षेत्रमा खट्न आग्रह गर्नुभयो । उहाँले अटेरी गर्ने चिकित्सकलाई कारबाही गर्ने समेत चेतावनी दिनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले वीरगन्जपछि ग्रामीण भेगमा स्वास्थ्य सेवाको लागि पोखरीया प्रादेशिक अस्पतालको स्थापना भएको बताउनुभयो ।
पोखरिया अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शङ्कर चौधरी, कृषिमन्त्री श्याम पटेल, सङ्घीय सरकारका पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व प्रदेश मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री प्रमोद जयसवाल, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, पोखरीया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहान, दीपनारायण रौनियार, मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्