तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहरको जोखिम न्यूनीकरणका लागि अति विपन्न ३ सय १० परिवारलाई न्यानो सामाग्री वितरण

सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा शीतलहरको जोखिमलाई न्युनिकरण गर्न ३ सय १० परिवारलाई न्यानो सामग्री वितरण गरिएको छ ।

बिगत केही सातादेखि शुरु भएको शीतलहरबाट पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको संयुक्त साझेदारीमा दक्षिणी तराईमा शीतलहरको सम्भावनाका लागि पूर्वकार्य तथा प्रतिकार्य परियोजना अन्तर्गत न्यानो कपडा तथा आवश्यक सामग्री वितरण गरिएको छ। कार्यक्रम अन्तर्गत हरिपुर्वा नगरपालिकाका २सय १० घरधुरी र पर्सा गाउँपालिकाका १ सय घरधुरी अति विपन्न तथा सिमान्तकृत घरपरिवारहरूलाई न्यानो सामग्री वितरण गरिएको हो । 

शीतलहरको समयमा उच्च जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सहयोग सामग्री वितरण गरिएको आयोजक संस्था बागमती सेवा समाज नेपालका कार्यक्रम विभाग प्रमुख भरत कुमार कार्कीले बताउनुभयो । सामाग्री वितरण कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम प्रबन्धक राम कुमार यादवले प्रति परिवार ७ हजार ८ सय पच्चिस रुपैयाँ बराबरको सहयोग सामग्री वितरण गरिएको जानकारी दिँदै शीतलहरबाट हुन सक्ने मानवीय जोखिम न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यसैगरी बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले शीतलहरबाट जोगिन तथा जोखिम न्यूनीकरण गर्न गरिएको यस पहलले समुदायलाई आगामी दिनमा पूर्वतयारीमा समेत ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका  र जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको समेत समन्वयमा सञ्चालन गरिएको उक्त राहत सामाग्री वितरण कार्यक्रमका लागि युके एड र स्टार्ट फण्ड नेपालले आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक सीता चौधरी, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, समाजसेवीहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button