तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । 

नेपाल मौरी पालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।”

मौरी पालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गर्नुभयो । एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् । 

मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै उहाँले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताउनुभयो । यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो । 

अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ । 

रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उहाँले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तर पूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताउनुभयो । 

कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरी पालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताउनुभयो । 

कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आर्चायले मौरी चिसोले मर्न थालेपछि मौरी पालक किसान चिन्तित भएको बताउनुभयो । “एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ”, उहाँले भन्नुभयो । चिसोको प्रत्यक्ष असर मौरी पालक किसानलाई परेको उल्लेख गर्दै उहाँले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताउनुभयो । रानी मौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरी पालक किसान आचार्यको भनाइ छ । 

उहाँले भन्नुभयो, “अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसका छन् ।” आर्चायले करिब ७० घार मौरी पाल्नुभएको छ । यहाँ १२ जना मौरी पालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आउनुभएको छ । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ । 

कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रमअनुसार मौरी पालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिनुभयो । जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गर्नुभएको छ । 

मौरी पालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट रु पाँच लाखको अनुदान प्राप्त गरेको र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताउनुभयो । जिल्लाबाट अधिकांश मौरी पालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button