५ महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौँ । चालु आवको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबर पुगेको छ ।
मङ्सिर महिनामा गत वर्षको सोही महिनाको तुलनामा ३५.६ प्रतिशतले रेमिट्यान्स बढेको तथ्याङ्क राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ ।
देशमा रोजगारको अवसर नभएर धेरै युवाहरू वैदेशिक रोजगारको खोजीमा विदेशिदा रेमिट्यान्स रकम हरेक महिना चुलिँदै गएको छ । २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्ष मङ्सिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रकम रेमिट्यान्सको रूपमा भित्रिएको थियो ।
चालु आवमा भित्रिएको रकमलाई डलरमा गणना ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ३.४ प्रतिशतले मात्रै डलर रेमिट्यान्स बढेको थियो ।
मङ्सिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्