रौतहटमा यस वर्ष धान उत्पादन २१ हजार मेट्रिक टनले घट्यो
रौतहट । रौतहटमा यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आएको छ। कृषि ज्ञान केन्द्र रौतहटका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा धान उत्पादन २१ हजार ५७८ मेट्रिक टनले घटेको छ।
सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ९५ हजार १३० मेट्रिक टन मात्रै उत्पादन भएको छ। यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो र प्रतिहेक्टर उत्पादन ३.०२ मेट्रिक टन रहेको छ।
गत वर्ष भने ३५ हजार ८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो र प्रतिहेक्टर उत्पादन ३.२६ मेट्रिक टन रहेको थियो। प्रतिहेक्टर उत्पादन घट्नुका साथै खेतीयोग्य क्षेत्रफलसमेत घटेकाले कुल उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
धान उत्पादन घट्नुको मुख्य कारण रोपाइँको समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि एकाएक भएको भारी वर्षा रहेको मण्डलले बताउनुभयो। उहाँका अनुसार सुरुमा पानी नपर्दा रोपाइँ प्रभावित भयो भने पछि परेको भारी वर्षाले धेरै स्थानमा धान बाली डुबानमा पर्यो।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा करिब ४ हजार ३ सय हेक्टर क्षेत्रफलमा कम धान खेती गरिएको छ। मौसमको प्रतिकूलता र खेतीयोग्य क्षेत्रफल घट्नुले समग्र धान उत्पादनमा नकारात्मक असर परेको केन्द्रको निष्कर्ष छ।








प्रतिक्रिया राख्नुहोस्