राष्ट्रियसभा सदस्य निर्वाचन सुदूरपश्चिम: नेकपाबाट दुई जनाकाे उम्मेदवारी दर्ता
धनगढी। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा टिकाराम जैशी र रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो।
माघ ११ गते हुने निर्वाचन अन्तर्गत पुस २३ गते उम्मेदवारी दर्ता गर्ने तालिका रहेको थियो। यसैगरी, नेपाली काँग्रेसले खम्मबहादुर खाती र नेकपा एमालेले लिला कुमारी भण्डारीलाई उम्मेदवार बनाएको छ। खाती पूर्व महान्यायाधिवक्ता र भण्डारी एमाले केन्द्रीय सदस्य हुन्। काँग्रेस र एमालेबीच चुनावी गठबन्धन बनेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहेका छन्। सुदूरपश्चिम प्रदेशमा ५३ प्रदेश सभा सदस्य (एक निलम्बित) र १७६ स्थानीय तह प्रतिनिधि (एक निलम्बित) रहेका छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र प्रमुख/उपप्रमुखको मतभार १९ छ।








प्रतिक्रिया राख्नुहोस्