इतिहास र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित इलाममा चारदिने ‘निसान पदयात्रा’ सुरु
इलाम। इतिहास संरक्षण तथा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको चार दिने ‘निसान पदयात्रा’ आजबाट सुरु भएको छ।

इलाम जिल्लाको पूर्वी सीमा क्षेत्र सूर्योदय नगरपालिकाको बेँचीबजारमा आयोजित उद्घाटन कार्यक्रममा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, इलाम नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू, जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख लक्ष्मण ढकाल, रणसार्दुल गण इलामका गणपति प्रह्लाद घलेलगायतको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा इलाम नगरपालिकाका प्रमुख केदार थापाले शिलालेख वाचन गर्दै औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। साथै इलामका इतिहासविद् जुद्धप्रसाद वैद्यले मेची महालालीको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत व्याख्या प्रस्तुत गर्नुभएको थियो।

सांस्कृतिक झाँकी तथा बाजागाजासहित पदयात्राको शुभारम्भ गरिएको हो। रणसार्दुल गण इलामका गणपति प्रह्लाद घलेले सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराललाई झण्डा हस्तान्तरण गरेपछि आज बिहान ११ः२५ बजे पदयात्रा औपचारिक रूपमा सुरु भएको हो।
नेपाल एकीकरण कालमा तत्कालीन श्रीनाथ पल्टनले पूर्वी भूभाग विजय गरी गाडेका निसान तथा सुगौली सन्धिपछि फर्काइ पुनः स्थापना गरिएका ऐतिहासिक स्थानहरूलाई समेटेर तयार गरिएको ‘निसान पदमार्ग’मा आधारित यो पदयात्रा चार दिनसम्म सञ्चालन हुनेछ। गत वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस पदयात्राले इतिहास, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने लक्ष्य लिएको छ।

ऐतिहासिक तथ्यअनुसार श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसान प्रारम्भमा सूर्योदय नगरपालिकाको करर्फोकस्थित पूर्णेडाँडामा राखिएको थियो। सुरक्षाका कारण पछि उक्त निसान नामसालिङको हात्तीटारमा सारिएको र अन्ततः इलामको माइस्थान मन्दिर परिसरमा स्थापना गरिएको इतिहास रहेको छ। हाल उक्त निसान पुनः माइस्थान मन्दिर परिसरमै स्थापना गरिएको छ। श्रीनाथ पल्टनले प्रयोग गरेका ऐतिहासिक तोपसमेत अघिल्लो वर्ष माइस्थान मन्दिर परिसरमा ल्याई पुनःस्थापना गरिएको इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो।

सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संयुक्त आयोजनामा तथा इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयोजनमा पदयात्रा आयोजना गरिएको हो। गणपति प्रह्लाद घलेका अनुसार पहिलो दिन सूर्योदय नगरपालिकाको रम्फोकमा बास बसिनेछ भने दोस्रो दिन पूर्णेडाँडामा बास बसिनेछ। पुस २५ गते माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार पुगिनेछ भने पुस २६ गते इलाम नगरपालिकाको माइस्थान मन्दिरमा पुगेर पदयात्रा समापन गरिनेछ।

इतिहासअनुसार पृथ्वी नारायण शाहद्वारा नेपाल एकीकरणका क्रममा नेपालको पूर्वी सीमा टिस्टासम्म फैलिएको थियो। विसं १८७२ को सुगौली सन्धिपछि नेपालको पूर्वी सीमा खुम्चिँदै हालको मेची नदीसम्म सीमित भएको हो। पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरिएको यस पदयात्रामा करिब पाँच हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्