तपाईँ सुन्दै हुनुहुन्छः

भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन बीमा प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैङ्क खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन आज निर्देशन दिएको हो ।

कार्यकारी निर्देशक एवम् प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैङ्क वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैङ्किङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भ उल्लेख गरिएको छ ।

यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैङ्क खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button