पूर्वी सीमा इतिहास स्मरण गराउँदै निसान पदयात्रा’ भोलिदेखि सुरु
इलाम । इतिहास संरक्षण तथा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको चार दिने ‘निसान पदयात्रा’को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल एकीकरण कालमा तत्कालीन श्रीनाथ पल्टनले पूर्वी भूभाग विजय गरी गाडेका निसान तथा सुगौली सन्धिपछि फर्काइ पुनः स्थापना गरिएका ऐतिहासिक स्थानहरूलाई समेटेर तयार गरिएको ‘निसान पदमार्ग’मा आधारित यो पदयात्रा भोलिदेखि सुरु हुन लागेको हो।

गत वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको निसान पदमार्गमा आधारित यस पदयात्राले इतिहास, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने लक्ष्य लिएको छ। ऐतिहासिक तथ्यअनुसार श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसान प्रारम्भमा सूर्योदय नगरपालिकाको करर्फोकस्थित पूर्णेडाँडामा राखिएको थियो। सुरक्षाका कारण पछि उक्त निसान नामसालिङको हात्तीटारमा सारिएको र अन्ततः इलामको माइस्थान मन्दिर परिसरमा स्थापना गरिएको इतिहास रहेको छ। हाल उक्त निसान पुनः माइस्थान मन्दिर परिसरमै स्थापना गरिएको छ।
श्रीनाथ पल्टनले प्रयोग गरेका ऐतिहासिक तोपसमेत अघिल्लो वर्ष माइस्थान मन्दिर परिसरमा ल्याई पुनःस्थापना गरिएको थियो। यही ऐतिहासिक पृष्ठभूमिलाई समेटेर पुस २३ गतेदेखि २६ गतेसम्म चार दिनसम्म पदयात्रा आयोजना गरिएको इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो।
सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संयुक्त आयोजनामा हुने उक्त पदयात्रा इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयोजनमा सम्पन्न हुन लागेको हो। गणपति प्रह्लाद घलेका अनुसार नेपाल–भारत पूर्वी सीमाना क्षेत्र मेची बजारबाट पदयात्राको शुभारम्भ हुनेछ। पहिलो दिन सूर्योदय नगरपालिकाको रम्फोकमा बास बसिनेछ भने दोस्रो दिन सोही नगरपालिकाको पूर्णेडाँडामा बास बसिनेछ। पुस २५ गते सूर्योदय नगरपालिकाबाट पुनः पदयात्रा सुरु भई माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार पुगिनेछ। पुस २६ गते इलाम नगरपालिकाको माइस्थान मन्दिरमा पुगेर पदयात्रा समापन गरिनेछ।
इतिहासअनुसार पृथ्वी नारायण शाहद्वारा नेपाल एकीकरण हुँदा पूर्वतर्फ नेपालको सीमा टिस्टासम्म फैलिएको थियो। विसं १८७२ को सुगौली सन्धिपछि नेपालको पूर्वी सीमा खुम्चिँदै हालको मेची नदीसम्म सीमित भएको हो। पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरिएको यस पदयात्रामा करिब पाँच हजार जनाको सहभागिता रहने अनुमान आयोजकले गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्